आँखामा फूलो पर्नका कारण र यसबाट बच्ने उपायहरु जानिराखौं

आँखामा फूलो पर्नका कारण र यसबाट बच्ने उपायहरु जानिराखौं

आँखा हाम्रो शरीरको अति संवेदनशिल अंग हो भन्ने कुरा त तपाईहरुलाई थाहा नै छ । हुन पनि आँखा केहीबेर चिम्लेर हेरौं त, संसार अन्ध्यारो छ नि हैन ? के हामीले सदैव यसरी अन्धकारमा जिउन सजिलो छ त ? अवश्य  पनि छैन भन्नु हुन्छ, हैन ? हाम्रो आँखालाई दृष्टि विहिन गराउन सक्ने कारणहरु धेरै छन् । मोतिबिन्दु, जलबिन्दु, चोटपटक, संक्रमण,  भिटामिन ए को कमी, आँखाको पर्दा अर्थात रेटिनाका बिभिन्न अवस्था लगायत थुप्रै अन्य आँखाका रोगहरु छन् । ति मध्ये आज चर्चा गरौं आँखामा फुलो पर्ने आँखाको समस्याको बारेमा ।

Corneal Ulcer Poster
राम लाल गोल्छा आँखा अस्पताल मार्फत जनहितमा जारी पोस्टर 
आँखाको नानी एक प्रकारको घडिको सिसा जस्तै पारदर्शी अर्थात प्रकाशका किरणहरु सजिलै छिर्न सक्ने हुन्छ । यो रक्तनली बिहिन पनि हुन्छ । यो आँखाको दानाको सबै भन्दा अघिल्लो महत्वपूर्ण भाग पनि हो । यसले आँखामा हुने प्रकाश आवर्तनमा महत्वपुर्ण भूमिका खेल्छ । यसको मोटाई ०.५२ मि. मि. को हुन्छ भने यसको आवर्तन शक्ति ४५ डायोप्टरको हुन्छ । यसरी आँखाको अगाडि रहेको पारदर्शीं नानी अर्थात कर्निया बिभिन्न कारणले गर्दा यसको पारदर्र्शीतामा ह्रास आई सेतो हुने अवस्थालाई नै आँखामा फुलो परेको भन्ने बुझिन्छ । अन्धोपनाको समस्या अर्थात कारण मध्ये आँखामा फूलो पर्नु पनि एक प्रमुख समस्या कै रुपमा रहेको छ । हाम्रो नेपालमा गरिएको एक अन्धोपन सर्भेक्षणले प्रति सय ब्यक्तिमा करिब एकजना ब्यक्ति अन्धो रहेको कुरा प्रष्ट पारेको छ । जसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास वा कमि आएर हुने मोतिबिन्दु हो, भने आँखाको नानिमा फूलो पर्नु अन्धोपनको दोश्रो प्रमुख कारणमा रहेको छ ।

अब लागौं आँखामा फूलो पर्नका कारणहरु तर्फ । 


नेपाल एक विकाुसोन्मुख कृषि प्रधान देश हो जहाँ ९० प्रतिशत भन्दा बढि मानिसहरू गाउँमा बस्छन् र कृषिमा निर्भर रहन्छन् । दैनिक कार्य गर्न मेलापात जाँदा, वन पाखामा धाउँदा र अन्य काम गर्दा आँखामा ठूला वा सानो घाउ चोटपटक लाग्न सक्छ । खेतबारीमा काम गर्दा बिभिन्न बालीनालीहरुले आँखाको नानीमा घोचेर अर्थात फोहोर पसेर, खेल खेल्दा, घरायसी काम गर्दा,  हेलचेक्राई आदिबाट आँखामा चोटपटक हुन सक्छ । आखिरी जुनसुुुकै कारणले आँखाको नानीमा यसरी लागेको चोटपटकको समयमा सहि उपचार नपाउनाले आँखाको नानिमा फूलो बस्छ र व्यक्ति अन्धो बन्न पुग्छ । 

यस बाहेक आँखा पाक्नु,आँखामा लाग्ने ट्रकोमा भनिने रोग, दादुरा ,जनै खटिरा, टाईफाईड, बिफर तथा कुपोषण आदिको कारणले पनि आँखाको नानीमा फूलो पर्न सक्छ । यसको अलवा आँखाको डिल भित्र फर्कि परेलाले घोचिरहने अवस्थामा नानीमा घाउ भई सहि उपचारमा ढिलाई भएमा र भिटामिन ए को कमि भई आँखा सुख्खा हुन गई आँखाको नानीमा फूलो पर्न सक्छ । आँखाको नानीमा फूलो परी अन्धो हुनेहरूमा प्राय बच्चा र युवाहरू देखिन्छन् तर अन्य उमेरका मानिसमा पनि फुलो नपर्ने भन्ने चाहिँ होईन ।



आँखाको अगाडि केहि बस्तुले छेके जस्तो भई कुनै पनि बस्तुलाई राम्ररी ठम्याउन नसक्नु, आँखाले धमिलो  देख्दै बिस्तारै पुरै नदेख्ने हुनु,  आँखामा देखिने कालो भाग सेतो देखिनु आदि आँखामा फुलो पर्नुका संकेतहरु हुन् ।

अब लागौं फूलो पर्नुबाट बच्नको लागि अपनाउनु पर्ने रोकथामका उपायहरु तर्फ । 

आँखाको नानीमा फूलो पर्नुबाट बच्ने उपायहरु निम्न छन् ।

  • आँखालाई चोटपटक लाग्नबाट जोगाउने यदि सानै चोटपटक लागेमा पनि आँखामा फूलो बस्न सक्ने भएकाले  तुरुन्त उपचार गराई हाल्ने ।
  • बच्चालाई धारिलो वा तिखो बस्तुसँग खेल्न नदिने, कुनै पनि काम गर्दा आँखामा चोटपटक लाग्नबाट जोगाउन होसियारी अपनाउने ।
  • साधारण चोटपटक लागेमा तुरुन्तै आँखामा एन्टीबायोटिक मलम लगाउन शुरु गर्ने ।
  • एन्टीबायोटिक मलमको सुविधा नभएमा वा उक्त मलमले आँखामा कुनै सुधार नआएमा र ठुलो चोटलागेमा अथवा दृष्टि कम भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र, अस्पताल वा आँखा उपचार केन्द्रमा गई सम्पर्क राख्ने । 
  • आँखामा ट्रकोमा रोग लागेको भए  यसको पनि उपचार गराईहाल्ने ।  आँखाको डिल भित्र फर्किई परेलाले घोचिरहेको छ भने पनि आँखाको नानीमा घोचेर पछि गई फुलो पर्न सक्ने भएकाले यसको उपचार पनि गराईहाल्नु पर्दछ ।
  • भिटामिन ए को कमि भएमा भिटामिन ए र भिटामिन ए पाईने खाद्य बस्तुहरु जस्तै हरियो साँगपात, पहेला फलफूल, माछा, मासु, दुध, दहि, अण्डा आदिको प्रयाप्त मात्रामा सेवन गर्ने अर्थात गराउने ।
  • आँखामा चोट लाग्दा पनि हेलचक्राई गरी समयमा उपचार नगरेमा कहिल्यै निको हुन नसक्ने गरि दृष्टिविहिन भइन्छ । तसर्थ आँखामा चोटपटक लागेमा शिघ्र उपचारको नितान्तै जरुरी हुन्छ । यदि तुरुन्तै उपचार गराएको खण्डमा भने आँखाको नानीमा कुनै पनि दाग बस्न पाउदैन । यदि दाग बसिहालेको भएता पनि उक्त दाग बढ्न पाउदैन । तसर्थ फूलोबाट हुने अन्धोपनाबाट मुक्त भईन्छ । आँखामा कुनै पनि बस्तु पसेमा त्यस्लाई निकाल्नुपर्दछ ।  फोहर पसेको अवस्थामा आँखा नमाड्ने फोहर निकाल्दा आफु नजिकै रहेको मानिसलाई सफा र नरम कपडाको छेउले फोहर झिक्न लगाउने वा सफा पानिले मुख धुने ।  यदि फोहर बस्तु फलाम तथा सिसाका टुक्राहरु भई आँखाको नानीमा गाडिएको अवस्थामा अर्थात फोहर निकाल्न नसकिएको अवस्थामा भने तुरुन्तै सुबिधायक्त स्वास्थ्य केन्द्र वा आँखा उपचार केन्द्रमा गई सम्पर्क गर्ने ।
  • नवजात शिशुमा आँखा पाकी पीप बगिरहेमा यथाशिघ्र उपचार गराउनु पर्दछ । आँखा पाकेर र आँखामा नै हुने  नानीमा घाउ भएमा फुलोे पर्ने हुँदा यसको उपचार गराउनु पर्दछ  । अन्य रोगका कारणले पनि आँखामा फुलो पर्न सक्छ तसर्थ सम्बन्धित रोगको पनि उपचार गर्नु पर्दछ यस्ता रोगहरु दादुरा, जनै खटिरा,  छालाको रोग, कुपोषण, टाईफाईड आदि हुन् ।
  • बच्चा गर्भमा रहदाँ आमाले स्वास्थ्यकर्मीको सल्लाह बिना कुनै पनि औषधि सेवन नगर्ने ।
  • आँखाको नानिमा फुलो परीसकेपछि कुनै किसिमको उचित औषधिमुलो छैन र एक मात्र बिकल्प भनेको आँखाको नानि फेर्नु हो जसले गर्दा अन्धाले फेरी देख्न सक्ने हुन्छ ।आँखामा फुलो परिसकेको अवस्थामा भने आँखाको नानी पछाडिको भागहरु जस्तै, आँखाको लेन्स, आँखाको भित्र रहेको तरल तथा अर्ध ठोस पदार्थ , पर्दा, स्नायु तथा दृष्टि नशा लगायतका बस्तुहरु राम्रो रहेको अवस्थामा भने फुलो पर्नुको उपचारको एउटै बिकल्प भनेको आँखाको नानी प्रत्यारोपन हो ।


आँखा प्रत्यारोपन के हो  ? यस बारेमा पनि तपाईहरुलाई कौतुहल हुन सक्छ  अब त्यसै तर्फ लागौं 

आखा फेरियो अथवा आँखा प्रत्यारोपन गरियो भनेको सुन्दा कताकता आँखाको डल्लो नै फेर्ने पो हो कि भन्ने भान पर्न सक्छ । तर वास्तविकता भने फरक छ । आँखा फेर्नु वा प्रत्यारोपन भनेको आँखाको डल्लो नै फेर्ने नभई केवल आँखाको नानी (Cornea) मात्र प्रत्यारोपन अथवा फेर्ने हो । जसलाई आँखाको प्रत्यारोपन भन्ने गरिन्छ । आँखाको सबैभन्दा बाहिर पट्टि रहेको पारदर्शक झिल्ली नै आँखाको नानी हो । यसरी कुनै कारणवश आँखाको नानाीमा फूलो पर्न गई दृष्टिहिन भएकालार्ई दृष्टि प्रदान गर्ने उद्देश्यले त्यस्ता दृष्टि बिहिन ब्यक्तिको  फूलो परेको आँखाको नानीलाई काटेर झिकिन्छ र बदलामा दाताबाट मृत्यू पछि प्राप्त सफा आँखाको नानी आवश्यकता अनुरुप काटेर  झिकिन्छ र त्यसलाइ सुरक्षित तबरले राखी दृष्टिविहिन ब्यक्तिको आँखामा समयमा नै प्रत्यारोपन गरिन्छ ।


अन्तमाः कतिपय मानिसहरु अझैपनि आँखामा चोटपटक लागेमा र   आँखामा फूलो बसेमा धामी झाक्रीको भर परि आँखाको उपचारमा ढिलाई गर्दछन् र फूलोबसे पछि मात्र स्वास्थ्य केन्द्रमा वा आँखा उपचार केन्द्रमा आउने गरेको पाईन्छ । धेरैजसो मानिसहरु गाउँमै रहेका र कतिपयले आँखा नदेख्ने हुनाको कारण पूर्व जन्मको पाप वा देवी देवताको श्राप  जस्ता अन्धविश्वास सम्झेर उपचार नगराई सधैका लागि दृष्टिबिहिन भई बसेका छन् । तसर्थ यसरी कुरा नबुझी बसेकाहरुलाई स्वास्थ्य केन्द्र वा आँखा उपचार केन्द्र सम्म पुग्ने वातावरण सृजना गरेको खण्डमा र आँखामा सानै चोटपटकबाट वा उपचार गर्न सकिने रोगबाट हुने अन्धोपनालाई रोक्न सकिन्छ ।


Photo : DCEC Solu

No comments