दृष्टि दोष सम्बन्धि आँखा स्वास्थ्य कार्यकर्ता बाबु र काका विचको रोचक छलफल



आँखा स्वास्थ्य कार्यकर्ताः– ( ढक ढक )घरमा को हुनु हुन्छ होला ?

काकाः– बाहिर को ह ? ढोका खुल्लै छ भित्रै आए हुन्छ नि ।

आँ.स्वा.का.ः– नमस्कार काका

काकाः– नमस्कार नमस्कार को भन्या त आँखा स्वास्थ्य कार्यकर्ता  बाबु पो हुनु हुदो रहेछ त । बाबु सँग त धेरै लामो समय पछि पो भेट भयो त । यतै खाटतिरै बसौं न बाबु  ।

आँ.स्वा.का.ः– भईहाल्छ नि काका ।  हैन काकाले के पढन लाग्नु भएको छ नि

काकाः– के हुनु नि काठमाण्डौंबाट छोराले चिठी पठाएको रहेछ । के लेखेको रहेछ भनेर हेरेको नि बाबु । खै के भा हो कुन्नि केही समय भो अलि कम प्रकाशमा त देख्दै देख्दिन भन्या बाबु । यि केही हेर्नु पर्यो भने  यति टाढा लैजानु पर्छ भन्या ।

आँ.स्वा.का.ः– काकालाई नजिक हेर्न साह्रै गाह्रो भएको हो त  काका ?

काकाः– अ भन्या । घडीको सुई हेर्न, सियोमा धागो उन्न पनि सक्दिन , नजिकमा केही केलाउनु प¥यो भने साह्रै गाह्रो हुन्छ भन्या

आँ.स्वा.का.ः– काकालाई पनि अब चाहि चश्मा चाहिएला जस्तो छ ।

काकाः– के रे चश्मा रे ? हैन चश्मा लगाउदा मैले नजिकको देख्छु र भन्या ? अनि बाबु चश्माको सट्टा औषधी लगाउदा हुदैन र आँखामा ?

आँ.स्वा.काः– कहाँ हुदो रहेछ र काका । यदि चश्माको सट्टा औषधीले हुने भए त चश्मा लगाउनु पर्ने सबैले औषधी नै लगाई हाल्थे नि

काकाः– उसो भए त चश्माको सट्टा औषधीले काम नगर्दो रहेछ हैन त बाबु ?

आँ.स्वा.का.ः– हो काका मेरो बुवाको पनि यस्तै समस्या थियो । मेरो बुबाले पनि त चश्मा लगाउनु हुन्छ नि काका । उमेरले चाहिँ काका भन्दा अलि बेसी नै होला । अनि काकाको उमेर  चाहिँ अहिले कति भयो कुन्नी ?

काकाः– अहिले बाबु !

आँ.स्वा.का.ः– हजूर काका

काकाः– पचास पुग्न अब मात्र दुई महिना बाँकी छ बाबु !

आँ.स्वा.का.ः– ए ! त्यसो भए त तपाईलाई चश्माको आवश्यकता परिहाल्छ नी काका ! तर काका यो आँखाको खासै ठूलो समस्या भने होईन  यस्तो समस्या चालिस बर्ष उमेर नाघेका प्राय सबैलाई देखिन्छ काका ! यसलाई बोलीचालीको भाषामा चालिसे लागेको भनिन्छ !

काका ः– अनि अहिले बुवाले लेख पढ गर्न सक्नुहन्छ बाबु !

आँ.स्वा.का.ः– चश्मा लगाएपछि त उहाँले राम्ररी देख्नु हुन्छ काका

काकाः–  चालिस बर्ष नाघेका मानिसले चश्मा प्रयोग गर्ने कुरा त भयो ! बाबु त आँखा सम्बन्धि धेरै जाने बुझेको मान्छे एउटा कुरा सोधौं !

आँ.स्वा.का.ः– सोध्नु न काका मैले जानेको कुरा म हजूरलाई बताईहाल्छु नी काका !

काकाः– कुरा चाहिँ चश्मा सम्बन्धि नै हो बाबु !

आँ.स्वा.का.ः– कस्तो चश्माको कुरा होला काका !

काकाः– चालिस बर्ष पुगेका मात्र हैन बाबुु साना–साना बच्चाहरुले पनि चश्मा प्रयोग गरेका देखिन्छन् । यो चाहिँ कस्तो अवस्था होला बाबु !

आँ.स्वा.का.ः– ठिक कुरा सोध्नु भयो काकाले ।  सबै उमेरका मानिसमा चश्मा लगाउनु पर्ने अवश्था चाहिँ खासगरी दुईवटा कारणहरु हुुन्छन्  काका !

काका ः– ती चाहिँ के के होलान् त बाबु !

आँ.स्वा.का.ः– सुन्नोस है त काका एउटा चाहिँ दूरदिृष्टि । यस्तो प्रकारको समस्यामा मानिसले टाढाको बस्तु राम्ररी देख्न सक्छन्  तर नजिकको बस्तु राम्ररी देख्न सक्दैनन् र अर्को चाहिँ अदूर दृष्टि यस्ता समस्या भएका मानिसले चाहिँ नजिकका बस्तु राम्ररी देख्न सक्छ तर टाढाका बस्तु भने देख्न सक्दैनन् ।

काका ः– टाढा र नजिक त नदेख्ने भईहाल्यो अरु लक्षणहरु पनि देखिन्छन् होला नी !

आँ.स्वा.का.ः– यि दुवै अवस्थामा कसै कसैलाई टाउको दुख्ने, आँखाको गेडी थाक्ने वा दुख्ने, आँशु आउने, हल्का घाममा हेर्न गाह्रो हुने, आँखाले धमिलो देख्ने आदि जस्ता लक्षणहरु पनि देखिन्छन् । त्यसैले सबै उमेरका मानिसमा यस्तो समस्या देखिन्छ । तर सबै मानिसमा चाहिँ होईन नी काका !

काकाः– टाढा नदेख्ने मानिसले चाहि चश्मा कति समय लगाउनु पर्छ त बाबु ?

आँ.स्वा.का.ः– सामन्यतया आँखामा चश्माको पावर हेरफेर हुन सक्दछ तसर्थ छ महिना वा बर्ष दिनमा नियमित चश्मा जाँच गराउनु उचित हुन्छ । धेरै पावर भएका चश्मा लगाउन आवश्यक रहेका ब्यक्तिहरुले चश्मा नियमित नै लगाई राख्नु पर्दछ । तर एकदमै न्यून पावरका चश्माहरु भने अवस्था सामान्य रहेमा नलगाउन पनि सक्छन् । यदि चश्माको पावर धेरै भएर पनि चश्मा नलगाएमा भने पछि गएर चश्मा लगाउदा पनि सुधार नहुन सक्छ । चश्ममा  लगाउदा पनि नदेख्ने आँखालाई अल्छे आँखा पनि भनिन्छ । यो मात्र नभएर यदि चश्मा नलगाएमा कालन्तरमा गएर आँखाको पर्दा फाट्ने संभावना पनि हुन्छ ।

काका ः– अँ साच्चै मेरी छोरी कान्छी पनि कक्षामा कालो पाटीमा लेखिएको अक्षर देख्दिन भन्छे बाबुले भने जस्तै कतै अदुर दृष्टि भएको त होईन की !

आँ.स्वा.का.ः– ए ! हो काका अदुर दृष्टि भएका स्कुले केटाकेटीहरुले शिक्षकले कालो पाटीमा लेखिएका अक्षर राम्रो संग नदेख्ने मात्र होईन उनीहरु आफु नजिकै रहेको साथीको भर पर्छन साथीहरुको कापीमा हेरेर कालो पाटीमा लेखिएको कुरा सार्ने गर्छन् । त्यसैले यस्ता समस्या भएका बिद्यार्थीहरुलाई बेलैमा आँखा जचाउन लैजानु पर्दछ ।

काकाः– उसो भए चश्मा लगाउनु परे पनि नपरे पनि एक पटक त छारीलाई पनि जचाउन लैजानै पर्ला र आफु पनि जचाउन पर्ला

आँ.स्वा.का.ः–  अनि नि काका एउटा अर्को कुरा के भने नि काका धेरै पावर भएको चश्मा लगाउनु पर्ने ब्यक्तिहरुको भने अवस्था हेरेर चश्मा नै नलगाउनु पर्ने एक किसिमको अप्रेशन पनि हुदो रहेछ । बरु चश्माको सट्टा आँखाको नानी मै टासेर लगाउने कन्ट्याक लेन्स भने लगाउन सकिन्छ  यो लेन्स र अप्रेशन चाहि प्रायशः चालिसे भन्दा पनि टाढाको नदेख्ने ब्यक्तिले अर्थात अदुर दृष्टि र दुर दृष्टि भएकाहरुले प्रयोग गर्न सक्छन् ।

काकाः– ए हो र बाबु , अनि यो अप्रेशन चाहि कहाँ हुन्छ त ?

आँ.स्वा.का.ः– सुन्नुहोस काका , यो अप्रेशनलाई रिफ्¥याटिभ सर्जरी पनि भनिन्छ । यो अप्रेशन तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंमा गएर गर्न सकिन्छ ।

काका यो त बुझें तर चश्मा जाँचको लागि चाहि ब्यवस्था त छ नि हैन  बाबु ? काठमाण्डौं नै जानु पर्ने त होईन होला नी ?
आँ.स्वा.का.ः– कहाँ काठमाण्डौं को कुरा गर्नु भएको काकाले पनि । तपाई हाम्रै सुुविधाको लागि भनेर चश्मा जाँचको ब्यवस्थाको साथमा आँखाका हरेक समस्याको लागि हाम्रै जिल्लामा पनि आँखा केन्द्र पनि खोलिएको  छ नि ।

काकाः– त्यसो भए फुर्सत मिलाएर बाबु छोरी नै आँखा केन्द्र जान्छु बाबुले धेरै कुरा सिकाएर छर्लङ परिदिनु भएको  धन्यबाद !

आँ.स्वा.का.ः– काकाले पनि चाख देखाएर सुनिदिनु भयो । अब चाहि म पनि लागे है त काका ।

काकाः– बाबु सँग धेरै पछि भेट भयो । फेरी फेरी पनि आउदै गर्नुस है त बाबु

आँ.स्वा.का.ः– भईहाल्छ नि काका ।

BY: पुष्पबाबु बस्नेत

No comments