Header Ads

बालबालिकाको आँखा कसरी सुरक्षित राख्ने ?

शरीरको सबैभन्दा महत्वपूर्ण अंग के ? यसको यही भन्ने जवाफ छैन । सबै अंगको आ-आफ्नै महत्व छ । हाम्रो शरीरमा आँखा महत्वपूर्ण पाटो हो । यहाँ म संसार हेर्न मद्धत गर्ने आँखा कसरी स्वस्थ राख्ने भन्नेबारे कुरा गर्दै छु ।

आँखा स्वच्छ तथा सुन्दर हुँदा मात्रै त्यसले सुन्दर संसार देख्न सक्छ । त्यसलाई हेरविचार गर्‍यौँ भने त्यसले हाम्रो हेरविचारमा सहयोग गर्छ ।


बाल आँखा एउटा गहन विषय


धेरैलाई लाग्न सक्छ आँखा त बुढाबुढी भएपछि कमजोर हुन्छ, त्यो बुढाबुढीलाई लाग्ने रोग हो । तर, कुरा त्यस्तो होइन । बाल आँखा स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण र संवेदनशील हुन्छ जति प्रौढ र बृद्धबृद्धाको ।

शरीर विज्ञानले पनि बाल आँखा रोग एउटा छुट्टै र गहन विषय भएको बताउँछ । यसले बालबालिकाको दृष्टि एवं अन्य आँखासम्बन्धी रोगहरुको बारेमा जाँच, उपचार र परामर्श गर्दछ ।

संसारमा झण्डै डेढ लाख बालबालिकाहरु अन्धोपनका शिकार छन् । जसमध्ये झण्डै दुई तिहाई एसिया तथा अफ्रिकी मुलुकहरुमा छन् ।

संसारमा अन्धोपनको प्रमुख कारण मोतिबिन्दु, जलबिन्दु, नानीसम्बन्धी समस्या, पर्दासम्बन्धी समस्याहरु हुन् । तर, बाल अन्धोपनलाई एउटा बालकले आफ्नो जीवनभर अन्धो भएर बाँच्नुपर्ने अवधिको रुपमा हामीले मापन गर्ने हो भने यो मोतिबिन्दु पछि संसारमा अन्धोपन गराउने प्रमुख कारकको रुपमा देखिन्छ ।

बालबालिका समस्या बताउन सक्दैनन्


विश्व स्वास्थ्य संगठनले बाल अन्धोपनलाई आफ्नो प्रमुख  प्राथमिकताका रोगहरुको सूचीमा राखेको छ ।

नेपाल जस्तै अन्य विकासोन्मुख देशमा लाग्ने बाल अन्धोपनसम्बधी झण्डै दुई तिहाई रोगहरु समयमै पत्ता नलागेर वा उपचार नपाएर भएको छ । यसलाई हटाउन सकिन्छ ।

बालबालिकाका आँखासम्बन्धी समस्याहरु ठूला व्यक्तिमा हुने समस्याभन्दा निकै भिन्न तरिकाले हुन्छन् । यीनलाई गर्ने जाँच र उपचार पद्धति पनि भिन्न हुन्छ ।

साना केटाकेटीहरु आफ्ना आँखामा हुने आँखा दुख्ने, रातो हुने, दृष्टि कमजोर हुने जस्ता समस्या र त्यसका लक्षणबारे केही भन्न सक्दैनन् । बाल अवस्थामा लागेका आँखाका रोगहरु समयमै पत्ता लगाएर उपचार गर्न नसके आँखा अल्छि भएर जान्छ । त्यस्तो अल्छि आँखाको उपचार ठूलो भएपछि सम्भव हुँदैन ।

यस्ता छन् बालबालिकाको आँखामा देखिने प्रमुख समस्या


दृष्टिदोष (रिफ्रिक्टिभ एरर), अल्छि आँखा (एमब्लायोपिया), छड्के आँखा, जन्मजात हुने मोतिबिन्दु, जलबिन्दु, आँखामा लाग्ने चोटपटक, संक्रमण (आँखा पाक्ने) र एलर्जीसम्बन्धी समस्याहरु साथै रतन्धो आदि प्रमुख हुन् ।

यसका साथै पर्दा सम्बन्धी समस्याहरु, जस्तै ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’, ‘रेटिनैटीस पिग्मेंटोसा’ ‘रेटिनल डिसट्रोफी इत्यादी पनि आँखामा देखा पर्ने महत्वपूर्ण रोगहरु हुन् ।

यस्ता हुन्छन् लक्षण

१. आँखाको कालो नानीमा सेतो देखिनु

२. कुनै पनि वस्तु हेर्दा मुन्टो तथा अनुहार बङ्ग्याउनु

३. आँखा छड्के देखिनु

४. आँसु आउनु, धेरै आँखा झिम्क्याउनु वा रातो हुनु

५. आँखा चिलाइरहनु

६. टेलिभिजनलाई नजिकबाट हेर्नु ।

के गर्ने त ?


यदि कुनै बच्चामा यस्ता लक्षणहरु देखिएमा तुरुन्तै आँखा जाँच गराउनु पर्दछ । त्यसबाहेक, सबै बालबालिकाका आँखा कम्तिमा पनि जन्मेको ४५ दिन देखि दुई महिनामा एक पटक, ६ महिनामा एक पटक, स्कूल भर्नाको समय (३-४ वर्ष) मा एक पटक जँचाउनु पर्छ ।

पछि ८-१० वर्ष नपुगुन्जेलसम्म प्रत्येक वर्ष आँखा जाँच गराउनु पर्छ । यसका साथै कम तौल भएका र उमेरभन्दा पहिले जन्मिएका शिशुहरु (प्रिम्याच्योर बेबी) को आँखा जाँच जन्मेको एक महिनादेखि ६ हप्ताभित्रमा गराउनु पर्दछ ।

एक प्रमुख समस्याः दृष्टिदोष (रिफ्रिक्टिभ एरर)


यो बालबालिकामा सबैभन्दा बढी देखिने आँखाको समस्या हो । यी विभिन्न प्रकारका हुन्छन् जसलाई अंग्रजीमा मायोपिया हैपरमेट्रोपिया, अस्टिगमाटिज्म भनिन्छ ।

आँखामा राम्रोसँग किरण परिवर्तन नहुँदा यो समस्या देखिन्छ । मायोपिया धेरैजसो स्कूले केटाकेटीमा पाइन्छ । साधारणतया यो रोगभन्दा पनि आँखामा हुने एउटा यस्तो अवस्था हो जसलाई ‘फिजिओलोजिकल मायोपिया’ पनि भनिन्छ ।

यस्ता छन् दृष्टिदोषका लक्षण


स्कूले केटाकेटीमा टाढाको बस्तु (खासगरी कक्षाकोठामा) हेर्न गाह्रो हुनु, टेलिभिजन धेरै नजिकबाट हेर्न मन पराउनु, आँखा डेढो हुनु, मुन्टो बङ्गयाएर वा छड्के गरेर हेर्नु, र पटक पटक आनो आइराख्नु पनि दृष्टिदोषका लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु देखा परेमा तुरुन्तै नजिकैको आँखा अस्पतालमा लैजानु पर्छ । अर्को महत्वपूर्ण कुरा, कतिपय बालबालिकामा दृष्टिदोषका लक्षण नदेखिन पनि सक्छ । यसैले सबै आमाबाबुले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के छ भने, प्रत्येक केटाकेटीको नियमित दृष्टि परिक्षण गर्न अत्यन्त जरुरी हुन्छ ।

धेरैले सोध्ने केही प्रश्न


धेरै मानिसमा आँखामा हुने दृष्टिदोष बारे गलत धारणाहरु पाएको छु । मैले प्रत्येक जस्तो दिन सुन्ने र भोग्ने गरेका केही प्रश्नहरु यस्ता छन्

१. यति सानो उमेरमा नै आँखा कमजोर हुन्छ र ?

२. यति सानो उमेरमा नै चस्मा लगाउन पर्छ र ?

३. ओहो ! मेरो बच्चाले चस्मा कसरी लगाउँछ  ?

४. चस्मा लगाइदिएमा आँखा झन् झन् कमजोर बन्ने र चस्माको पावर बढाउनुपर्ने हुँदैन र ?

५. अलि ठूलो भएपछि लगाए हुँदैन र ?

तपाईंहरु यस्ता गलत धारणालाई हटाउनु होस् । धेरैजसो दृष्टिदोष एकपटक देखा परेपछि अलिअलि बढ्दै जान्छ । तर आँखाको पावर कति छ भन्दा पनि चस्मा लगाएपछि कति दृष्टि आउँछ कति भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

दृष्टिदोषको समयमै उपचार नगरेमा आँखा अल्छि भएर जान्छ । यदि चाहिने जति पावरको चस्मा लगाउँदा पनि दृष्टि नआएमा त्यस्तो अवस्थालाई अल्छि आँखा भनिन्छ । यदि आँखा अल्छि देखिएमा यसको समयमै उपचार जरुरी छ ।

यी सबै रोग यदि समयमै पत्ता लगाएमा उपचार सम्भव हुन्छन् । तर उपचारमा ढिलाई गरेमा पछि उपचार गराए पनि बालबालिकाको दृष्टि आउने सम्भावना न्यून हुन्छन् ।

यी रोग पत्ता लगाउने उपाय भनेको पहिलो कुरा रोगका केही सामान्य लक्षणहरुको बारेमा जानकारी राख्नु नै हो । दोस्रो, प्रत्येक बालबालिकाको समय समयमा आँखा जाँच गराउनु नै राम्रो उपाय हो । समयमै सचेत हुनुहोस् ।

(डा. सृजना अधिकारी नेपाल तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ बाल नेत्र रोग विशेषज्ञ एवं शल्यचिकित्सक हुन् ।)

Source: https://www.onlinekhabar.com/2018/06/683589

No comments