तिलगंगा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच आँखाको नानीदान संकलनका लागि सम्झौता

शहीद गंगालाल हृदयरोग केन्द्रमा असार २९ देखि आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने गरी अस्पतालले तिलगंगाा आँखा प्रतिष्ठानसँग सम्झौता गरेको छ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो।
सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिहंले सरकारले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको बताउँदै दृष्टिविहीनलाई दृष्टि दिने पुण्य कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाए।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत गुरुङले विगतमा आँखादान सम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएको बताइन्। उनले आँखाको नानी संकलन केन्द्रको संख्या देशव्यापी रुपमै बढाउन सके नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिने धारणा व्यक्त गरिन्।
दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नका लागि आँखाको नानी संकलन केन्द्रको स्थापना जरुरी भएको औँल्याउँदै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक शर्माले मुुलुकभर सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गर्न अपिल गरे।
नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि आँखाको नानी संकलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए।
‘आँखा दान महादान’ भन्ने युत्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ। 
आँखा बैकले आर्यघाट विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा रहेका तीन वटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा आँखादान सम्बन्धी परामर्श तथा जानकारी दिँदै आएको छ।
बैँकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्, भने झण्डै १२ हजार ५ सय जनाभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन्। पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ। 
विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ। सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैँकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो। रासस

No comments